साउनको पहिलो सोमबार

मुख्यमन्त्री सिँहले गरे टुटेश्वरनाथको दर्शन

२०८१ श्रावण ७, सोमबार ०९:५०

टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् ।

सोमबार बिहान साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे ।

उनले पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व रहेको बताउँदै त्यस शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भारतको वैद्यनाथधाममा महिनाभरि आउने पर्यटकले त्यसक्षेत्रका जनताको वर्षभरि आर्थिक भार धानिने उदाहरण दिँदै प्रदेशका धार्मिक महत्वका पर्यटकस्थलको प्रचारप्रसार गर्न सकिए त्यस किसिमको परिणाम प्राप्त गर्न सकिनेमा जोड दिए ।

त्यस अवसरमा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले मुख्यमन्त्री सिँहलाई टुटेश्वरनाथ महादेव मन्दिरको विकास तथा विस्तारका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH