रेड स्टिकरको हल्ला बाक्लिएपछि मधेश भवनका चार मन्त्रालय सारिने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ साउन ।
मधेश प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित चार मन्त्रालय अन्यत्र सारिने भएका छन् । जनकपुर चुरोट कारखाना बन्द भएपछि केही वर्ष प्रयोगविहीन बनेको भवन मरम्मतसुधार गरी चार मन्त्रालय स्थापना गरिएको थियो । २०७२ सालको महाभूकम्पपछि जोखिममा रहेको चिह्न्ति गरिएको भन्दै त्यस ठाउँबाट अन्यत्र मन्त्रालय सारिन थालिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जोखिमको आकलन तथा सम्भावित दुर्घटनाको लेखाजोखा गरी एउटै भवनको चारवटा तलामा रहेका वन तथा वातावरण, उद्योग, वाणिज्य तथा पर्यटन, अर्थ र स्वास्थ्य तथा जनसँख्या मन्त्रालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको बताए । उनले मन्त्रिपरिषद् बैठकबाटै अन्य विकल्प नभए भाडामै भूकम्प प्रतिरोधी घर लिएर मन्त्रालय राख्ने निर्णय भएको जानकारी दिए ।
मन्त्री यादवले तत्काल भाडाका भवनमा विभिन्न मन्त्रालय सञ्चालन गरिए पनि प्रदेश सरकारले यसै वर्षबाट भवन निर्माण थाल्ने सुनाए ।
प्रदेश सरकारका मन्त्रालयहरू रहेका जनकपुर चुरोट कारखाना लिमिटेडका भवनसहितको परिसरलाई प्रदेश सरकारले मधेश भवन नामकरण गरेको छ । जनकपुर चुरोट कारखाना लिमिटेडका पूर्वमहाप्रबन्धक अनुराग गिरीले ०४५ ०४६ सालतिर अधिकृत आवासका बनेको अहिले चार मन्त्रालय रहेका भवन मजबुत रहेको दाबी गरे । सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख प्रदीप खनालले मधेश भवनभित्र पिलर सिस्टम र लोडवेयरिङ दुवै खालका संरचनाका भवन रहे पनि भूकम्पीय दृष्टिले कुनै पनि भवन अत्यधिक जोखिममा चिह्नित गरिएको बारे आफूलाई जानकारी नभएको बताए ।
प्रदेश सरकारका अधिकारीहरूले सो भवनमा महाभूकम्पपछि रेड स्टिकर टाँसएिको बताउँछन् । वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले महाभूकम्पताका भवनमा रेडस्टिकर टाँसेको सुनिएको र भवनको माथ्लो तल्लामा रहेको मन्त्रालयको छानो झरेपछि सो जानकारीसहित भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार गरिएको बताए ।
खनालले मधेशमा उपलब्ध बालुवामा पाङ्गो माटो मिसिने हुँदा छत झर्ने समस्या देखिने र मन्त्रालयहरू रहेको सो भवनमा रड देखिनेगरी सिमेन्ट बालुवा झरेको बताए ।
सहरी विकास मन्त्रालयको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख प्रदीप खनालले रणनीतिक, विद्युतीय सर्टसर्किटबाट हुने आगलागी अगलागी र सेवाग्राहीको चापको दृष्टिले भने एउटै भवनमा चार मन्त्रालय राख्न उपयुक्त नहुने भने बताए । ‘अव्यवस्थित तरिकाले जडान भएको विद्युतीय प्रणालीका कारण आगलागी लगायत घटनाको जोखिम छ । यसले दुर्भाग्यपूर्ण दुर्घटना हुँदा प्रदेश सरकारसँग भएका तथ्यतथ्यांकसहितका दस्ताबेज नष्ट हुनसक्छ,’ खनालले भने ।
वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरेले जनकपुरधामको उत्तिमपुरस्थित निर्माणाधीन वन निर्देशनालय भवनमा मन्त्रालय सार्नेगरी तयारी भइरहेको बताए । उनले सो भवनमा रंगरोगनको काम बाँकी रहेको र त्यसपछि मन्त्रालय सारिने जानकारी दिए ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले मन्त्रालय सार्न भाडाको भवन खोजी भइरहेको बताए ।