लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
लुम्बिनी, ९ साउन (रासस) ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २९ र नेपाली काँग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।
संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र काँग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरूको विभागीय जिम्मेवारी दुवै दलबीच सहमतिपछि मात्र तोकिने छ ।