मधेश प्रदेश

प्रदेश लोकसेवा आयोग अध्यक्षका लागि शिवराम यादवको नाउँ सिफारिस

२०८१ श्रावण ११, शुक्रबार ०८:२५
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहका साथ प्रदेश लोकसेवा आयोगका अध्यक्षमा सिफारिस गरिएका शिवराम यादव(दायाँ) । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
काठमाडौँ, ११ साउन ।
मधेश लोकसेवा आयोगका अध्यक्षमा सिरहाका शिवराम यादवलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिँह, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल र प्रदेशसभामा प्रमुख प्रतिपक्षी जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवको तीन सदस्यीय सिफारिस समितिले यादवको नाउँ बिहीबार सर्वसम्मतिले प्रदेश लोकसेवा आयोग अध्यक्षका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

सरकारी सेवामा रहेका यादवले शुक्रबार सेवाबाट राजीनामा दिएपछि प्रदेश लोकसेवा अध्यक्ष पदमा नियुक्त गरिने मुख्यमन्त्री सिँहले बताए । आयोगमा रिक्त एक सदस्य नियुक्तिका लागि सातादिनपछि सिफारिस गरिने सिफारिस समितिका सदस्य एवम् सभामुख मण्डलले जानकारी दिए ।

तीन सदस्य आयोगमा अध्यक्षसहित एक सदस्य रिक्त रहँदा प्रदेशमा कर्मचारी भर्ना, बढुवालगायतका काम बाधित हुँदैआएको थियो ।

अध्यक्षमा सिफारिस गरिएका यादवले आफूसहितको पदाधिकारी नियुक्ति प्रक्रिया सकिएपछि आयोगको काम द्रुत गतिले अघि बढाउने बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH