सधैँ प्रथम श्रेणीमा उतीर्ण गर्ने शिवराम

“नियतिमा लोकसेवा अध्यक्ष बन्नु थियो, लिखित उतीर्ण गर्दा पनि बन्न पाएनन् सहसचिव”

२०८१ श्रावण ११, शुक्रबार ०९:५७


टोलपडोस समाचारदाता
काठमाडौँ, ११ साउन ।
१४ वर्षअघि अर्थात् २०६७ साल प्रशासनतर्फका सहसचिवका लागि खुला प्रतिस्पर्धामा लिखित परीक्षा उतीर्ण गरेका सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरियाका ५८ वर्षीय इन्जिनियर शिवराम यादव सहसचिव भएका भए सेवानिवृत्ति पर्खँदै गरेका सचिव हुन्थें । तर, नियतिलाई भने अर्थोक मञ्जुर थियो । तीन दशकसम्म सरकारी सेवामा उपसचिवका रूपमा काम गरेका यादव मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्षका लागि सिफारिस भएका छन् ।

मेकानिकलतर्फका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) का रूपमा सडक विभागको काठमाडौँस्थित हेभी इक्विपमेन्ट डिभिजनमा कार्यरत यादव प्रदेश लोकसेवा आयोगका अध्यक्ष पदमा नियुक्त हुनका लागि आज(शुक्रबार) सेवाबाट राजीनामा दिँदैछन् । किसान पृष्ठभूमिका गोनी यादव र सिरजीदेवीका छोरा शिवराम उपसचिव(प्राविधिक) मा समेत खुला प्रतिस्पर्धाबाटै सिफारिस भएका थिए ।

गत २०५० सालमा राजपत्रांकित तृतीय श्रेणी(इन्जिनियर) को योग्यताक्रममा पहिलो नम्बरमा सिफारिस भएका यादव शिक्षार्जन गरिरहँदा कहिल्यै दोस्रो श्रेणी भएनन् ।
नेपाल बोर्डबाट एसएलसीमा प्रथम श्रेणीमा उतीर्ण गरेका यादव जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयअन्तगर्ततको राराब क्याम्पसबाट प्रथम श्रेणीमै उतीर्ण गरेका थिए । पञ्जाब विश्वविद्यालयको पञ्जाब इन्जिनियरिङ कलेज चण्डीगढबाट प्रथम श्रेणीमा बिई उतीर्ण गरेका उनले काठमाडौँ विश्वविद्यालय धुलीखेलबाट प्रथम श्रेणीमै एमई उतीर्ण गरेका छन् ।

सिँघानिया विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि पुरा गर्ने क्रममा रहेका यादव केही वर्षअघि खुला प्रतिस्पर्धाबाटै जनकपुर चुरोट कारखाना लिमिटेडका महाप्रबन्धक भएका थिए । व्यवस्थापन तथा विकास विषयक विभिन्न तालिममा प्रथम र उत्कृष्ट समेत भएका उनले सिँगापुर, जापान र पाकिस्तान समेतबाट दक्षता वृद्धिसम्बन्धी तालिम प्राप्त गरेका छन् ।

निजामती सेवातर्फको उत्कृष्ट पुरस्कार प्राप्त गरेका यादव संघीय लोकसेवा आयोगको विज्ञ रोस्टरमा सूचीकृत भई काम गर्दैआएका छन् । माग आपूर्ति फारम व्यवस्थापन, परीक्षा सञ्चालनका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जन, परीक्षा पद्धतिको निर्माण तथा व्यवस्थापन, प्रश्नपत्रको निर्माण र व्यवस्थापन आदि विषयमा विशेष दक्षता रहेका यादव संघीय लोकसेवा आयोगले लिने विभिन्न अन्तर्वार्तामा समेत संलग्न हुँदैआएका छन् ।

यादव योगाभ्यास, प्रणायाम, सत्संग आदि कार्यमा समेत सक्रिय रहँदैआएका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH