फेरियो जिल्ला प्रहरी कार्यालय धनुषाको रूपरङ्ग
टोलपडोस समाचारदाता
काठमाडौँ, ११ साउन ।
जिल्ला प्रहरी कार्यालय धनुषा परिसर धुलोहिलोविहीन बनाइँदैछ । वृक्षरोपणसहितको वातावरणमैत्री संरचना निर्माण गरेर कार्यालय परिसरलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
परिसरमा आँप, लिची, अमला, जामुन, कागती र अम्बालगायतका फलफूल रोपिएका छन् भने क्रंकिटविहीन भौतिक संरचना बनाएर भूमिगत जल पुनर्भरण हुने व्यवस्था गरिएको छ । परिसरमा सेवाग्राहीले स्वेच्छापूर्वक फोहोर नगर्ने गरी सन्देश प्रवाहित गरिनुका साथै परिसरलाई प्लास्टिकमुक्त र सूर्तिजन्य पदार्थ पदार्थ प्रयोग नहुने थलोको रूपमा विकसित गर्ने अभ्यास गरिँदैछ ।
प्रहरी उपरीक्षक तिवारीले भने, ‘सेवाग्राहीलाई हामीले हामी यहाँ फोहोर फाल्दैनौँ भन्दै आएका छौँ । जसले गर्दा सेवाग्राही आत्मप्रेरित भई फोहोर न्यूनीकरणमा सहयोग गर्दै आउनुभएको छ ।’
सेवाग्राहीले राख्ने सूर्तिजन्य पदार्थ परिसरमा पस्नुअघि नै प्रहरीलाई जिम्मा लगाउने र काम सकेपछि लिएर जाने व्यवस्था गरिएको छ । परिसरको नयाँ मनमोहक दृश्य त्यहाँ कार्यरत प्रहरी र सेवाग्राही दुवैका लागि रमणनीय बनेको छ ।
प्रहरी उपरीक्षक तिवारीले जिल्ला प्रहरी कार्यालय क्षेत्रलाई सुन्दर र आनन्ददायी बनाउन थप कार्य गरिने बताए ।