मधेश प्रदेश लोकसेवा आयोग अध्यक्षमा यादवले पाए नियुक्तिपत्र
टोलपडोस समाचारदाता
काठमाडौँ, ११ साउन ।
सिरहा नगरपालिका–१३ का शिवराम यादव शुक्रबार मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्त भएका छन् । मुख्यमन्त्री, सभामुख र प्रतिपक्षी दलका नेता रहने तीन सदस्यीय समितिको सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई आयोगका अध्यक्ष पदमा नियुक्त गरेकी छिन् ।
प्रदश प्रमुख भण्डारीले शुक्रबार नै यादवलाई जनकपुरधामको मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा नियुक्तपत्र दिएकी छिन् ।
सिफारिस समितिले बिहीबार आयोग अध्यक्षका लागि नेपाल सरकारको मेकानिकलतर्फका सिनियर डिभिजनल इन्जिनियर यादवको नाउँ सर्वसम्मतिले सिफारिस गरेको थियो । विकास तथा व्यवस्थापनमा अनुभवी मानिएका ५८ वर्षीय यादव इन्जिनियरिङमा स्नातकोत्तर हुन् ।
यादवको नियुक्तिपछि पनि तीन सदस्यीय आयोगमा थप एक सदस्य पद रिक्त छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले साता दिनभित्र सो पदपूर्ति गरिने टोलपडोसलाई बताए ।