जनकपुरधामा जनमतको केन्द्रिय सचिवालय बैठक सुरु
जनकपुरधाम ,११ साउन। जनमत पार्टीको केन्द्रिय सचिवालय बैठक जनकपुरधाममा सुरु भएको छ । आफ्नो पार्टीले नेतृत्व गरेको मधेस सरकारको कामकाज कार्यान्वयनमा देखिएका समस्याबारे निर्क्योल निकाल्न शुक्रबारदेखि सो पार्टीको सचिवालय बैठक सुरु भएको हो ।
मधेसमा पहिलोपटक नेतृत्व सम्हालेको जनमत पार्टीले सरकारमा सहभागी भएको ४८ दिनपछि समीक्षा गर्न थालेको हो । सरकारको समीक्षाका लागि सचिवालय बैठक सुरु भएको पार्टी प्रवक्ता डा. शरद सिंह यादवले जानकारी दिए ।
उनका अनुसार जनकपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा सुरु सचिवालय बैठक २ दिनसम्म चल्नेछ । सचिवालय बैठकमा खासगरी ३ वटा एजेन्डामा छलफल केन्द्रित रहने प्रवक्ता डा. यादवले बताए ।
उनका अनुसार पहिलो चरणमा प्रदेश सरकारको कामकारबाहीमा भएका उपलब्धि तथा काम गर्दा आएका कठिनाइको समाधानका विषयमा छलफल हुनेछ । मधेस प्रदेश सरकारलाई कसरी सफल बनाउने त्यो रणनीति समेत बैठकबाट तय गरिने बताइएको छ ।
बैठकको दोस्रो एजेन्डा वर्तमान राजनीतिक परिस्थिति र तेस्रो एजेन्डा पार्टीको कार्यदिशा रहेको प्रवक्ता डा. यादवले बताए ।
शुक्रबार सचिवालयका १७जना पदाधिकारी तथा सदस्यहरूसँग मात्र छलफल गरिने उनले बताए । शनिवार प्रदेशका मुख्यमन्त्री, पूर्वमन्त्री तथा प्रदेश सांसदहरूसँग छलफल गरिने कार्यतालिका तय भएको यादवले जानकारी दिए ।