वनमन्त्रीले भेटेरै डिएफओ झालाई भने, ‘बधाई छ, तपाईँ आँटिलो हुनुहुन्छ’

२०८१ श्रावण १३, आईतवार १०:५७
सिरहा जिल्लाको नरहा गाउँपालिका-३ स्थित जोबहा सामुदायिक वनको अतिक्रमित जग्गा शनिबार खाली गराउनुपूर्व वनकर्मीलाई उत्प्रेरित गर्दै डिभिजनल वन अधिकृत सुजितकुमार झा । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, १३ साउन ।
सरकारको राजनीतिक र प्रशासनिक नेतृत्वको अनिच्छा र उदासीनताका बाबजुद पनि कानुनी दायित्वप्राप्त अधिकारीले काम फत्ते गर्न सक्छ भन्ने कुराको उदाहरण बनेका छन्, सिरहाका डिभिजनल वन अधिकृत(डिएफओ) सुजितकुमार झा ।

केही समययता वन फँडानी, काठको अवैध ओसारपसार, चुरे दोहन, ढुङ्गागिट्टी र वालुवा उत्खनन्विरुद्ध त्वरित तथा तीव्र कारबाही गरिरहेको झानेतृत्वको डिभिजन वन कार्यालय सिरहाले जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ चोहर्बास्थित जोबहा सामुदायिक वनको अतिक्रमित जग्गा शनिबार खाली गराएको छ ।

सिरहाका ८० वन कर्मचारी तथा धनुषा र सप्तरीबाट मगाइएका २० सशस्त्र वनरक्षकसहित डिभिजन वन अधिकृत झाले तीनदशकदेखि अतिक्रमित वनक्षेत्रको जग्गामा बनाइएका संरचना हटाउन लगाएका हुन् । पूर्वपश्चिम राजमार्गको चोहर्बास्थित नेपाली सेनाको ब्यारेकको ठिक दक्षिणपट्टि रहेको वनक्षेत्रकोे दुई हेक्टर क्षेत्रफल जग्गामा चार दशकभन्दा बढी समयदेखि भई होटल व्यवसाय सञ्चालन हुँदैआएको थियो ।

डिभिजन वन कार्यालय सिरहाले गत असार १३ गते १५ दिने सूचना जारी गरी जग्गा खाली गर्न निर्देशन दिएको थियो । तर, राजनीतिक संरक्षणप्राप्त अतिक्रमणकारीहरूले जग्गा खाली गरेका थिएनन् ।

अतिक्रमणकारीहरूको एक ठूलो र प्रभावशाली राजनीतिक दलसँगको आबद्धता र दलका नेताकार्यताको संरक्षणका कारण वनक्षेत्रमा रहेको सो अवैध अतिक्रमण यसअघि हटाउन सकिएको थिएन । शनिबारको कारबाहीमा स्थानीय प्रशासनले वन कार्यालयलाई नसघाएको भन्दै स्थानीयले विरोध नै प्रदर्शन गरेका थिए ।

वन नियमावली २०७९ को नियम ११९ (१) मा डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्रभित्रको वन क्षेत्रमा भएका अतिक्रमण हटाउनुपर्ने उल्लेख छ । नियम ११९ (४) मा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतका सदस्य रहेको वन अतिक्रमण नियन्त्रण समितिले डिभिजनल वन अधिकृतलाई वन अतिक्रमण हटाउन आवश्यक सहयोग गर्नुका साथै अतिक्रमण हटाउँदाको बखत आवश्यक सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेको छ ।

डिभिजन वन कार्यालय सिरहाले माग गरे पनि आवश्यक सुरक्षा दिन स्थानीय प्रशासन चुके पनि अतिक्रमण हटाउन डिभिजनल वन अधिकृत झाले प्रदेश सरकारका उच्च अधिकारीहरूलाई विश्वासमा लिएर आवश्यक जनशक्ति र उपकरणसहित कार्ययोजना बनाएका थिए । अतिक्रमित जग्गा खाली गराइरहँदा अतिक्रमणकारीका तर्फबाट एक महिलाले खुकुरी उज्याए पनि स्थितिलाई नियन्त्रणमा लिई वनक्षेत्र खाली गराइएको थियो ।

जनप्रतिनिधि एवम् स्थानीय प्रशासन प्रमुखसँगको राजनीतिक, सामुदायिक र जातीय निकटताका कारण अतिक्रमणकारीहरू हौसिने भए पनि सही तथा सटीक कार्ययोजनाका साथ डिभिजनल वन अधिकृत अघि बढे वनक्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सकिने स्थानीयको भनाइ छ ।

‘वनक्षेत्रको जग्गा अतिक्रमणमुक्त गराउने कानुनी अधिकार डिभिजनल वन अधिकृतसँग छ । सिरहाका डिभिजन वन अधिकृत सुजितजीले आवश्यक समन्वय गरेर आफ्नो कानुनी दायित्व इमानदारी र निष्ठापूर्वक पुरा गर्नुभएको हो, ’ मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले भने । उनले डिभिजनल वन अधिकृत झा आँटिलो रहेको र चार दशकदेखिको वनक्षेत्र अतिक्रमण मुक्त गराएकामा आफूले भेटेरै बधाई दिएको बताए ।

डिभिजन वन कार्यालय प्रदेश सरकार मातहतको निकाय हो । वनक्षेत्रसँग जोडिएका विभिन्न विषयमा डिभिजनल वन अधिकृतलाई कानुनले अधिकार दिएको छ ।
अतिक्रमति क्षेत्रका अवैध संरचना हटाउन होस् वा वनक्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न डिभिजन वन कार्यालयहरूले प्रयास गर्दा स्थानीय प्रशासनले शान्तिसुरक्षा खलबलिने त्रास देखाउँदै असहयोग गर्ने मात्र होइन त्यस्तो अभियान सञ्चालन नगर्न दबाब बनाउँदै आएका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले चोहर्बाको वनक्षेत्र अतिक्रमणमुक्त गराउने काममा ढिलाइ गर्न सम्बद्ध कार्यालयलाई भनेका थिए । केही दिनअघि त्यस ठाउँनजिककै वनक्षेत्र अतिक्रमणमुक्त गराउन उत्साहित देखिएका प्रमुख जिल्ला अधिकारी दाहाल राजनीतिक दबाबकै कारण पछिल्लो कारबाहीमा सहभागिता जनाउन अनिच्छुक देखिएका स्रोतको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH