मधेश प्रदेश

शिक्षा नीति मस्यौदा गर्न टास्क फोर्स परिचालन हुने

२०८१ श्रावण १४, सोमबार १३:५१


टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ साउन ।
मधेश प्रदेशको शिक्षा नीति आगामी भदौसम्म मस्यौदा गरिसक्ने योजनाका साथ काम अघि बढाइएको छ ।

मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोले प्रदेशको शिक्षा नीति निर्माण तर्जुमाका लागि गठित शिक्षाविज्ञ डा.प्रमोद भट्ट नेतृत्वको टास्क फोर्सलाई क्यालेन्डरसहितको कार्ययोजना दिइएको जानकारी दिए ।

प्रदेशको शिक्षा नीति निर्माण तर्जुमाका लागि शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माको अध्यक्षतामा रहेको एघार सदस्यीय निर्देशक समितिले शिक्षाविज्ञ डा.भट्ट नेतृत्वको टास्क फोर्सलाई मस्यौदा तयार गर्न तीव्रताका साथ काम अघि बढाउन जिम्मेवारी सुम्पेको हो ।

टास्क फोर्सले प्रदेशका विभिन्न जिल्लामा सरोकारवाला चिह्नित गरी शिक्षा नीतिमा समेटिनुपर्ने विषयमा रायसुझाव संकलन गर्नेछ ।

मन्त्री शर्माले प्रदेश सरकार गठन भएयता थाँती रहेको शिक्षा नीतिको मस्यौदा छिटोभन्दा छिटो ल्याउन र त्यसमा सरोकारवालाको स्वामित्व तथा अपनत्वका लागि बृहत् छलफल गराउन टास्क फोर्सलाई पूर्ण क्षमतामा काम गर्न समयसहितको कार्ययोजना नै बनाइएको जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH