प्रदेशका उद्योगमा स्थानीयलाई रोजगारी दिने वातावरण बनाउनुपर्छ : मुख्यमन्त्री सिँह
टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ साउन ।
बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीयलाई रोजगारी प्रदान गरिने वातावरण बन्नुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बताएका छन् । उनले उद्योगका माग र आवश्यक्ताअनुसार स्थानीय नागरिकलाई कामका लागि योग्य एवम् दक्ष बनाउँदै रोजगारी सिर्जना गरिनुपर्ने औंल्याए ।
मुख्यमन्त्री सिँहले निर्धारित कामका लागि उपयुक्त जनशक्ति नहुँदा स्थानीय श्रमबजारमा बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता उद्यमीको रहेको समेत बताए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित हुलास स्टिल उद्योगमा आयोजित नेपालको सबैभन्दा ठूलो ग्याल्भनाइजिङ एकाइको उद्घाटन गर्दै मुख्यमन्त्री सिँहले प्रदेश सरकारले स्थानीय श्रमबजारमा घरेलु श्रमिकको संलग्नताका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सिँहले भने, “बारापर्सा औद्योगिक कोरिडोरमा यहाँकै नागरिकलाई दक्ष तुल्याई रोजगारी दिन आवश्यक छ । यसका लागि प्रदेश सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार छ ।” उनले स्थानीय नागरिकलाई आवश्यक सीप तथा तालिमको पाठ्यक्रम तयार गरेर काम गरिनुपर्नेमा पनि जोड दिए ।
मुख्यमन्त्री सिँहले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति तयार पार्न प्रदेश सरकारको लगानी र सहयोग कुनै कमी नहुने आश्वासन दिए । स्थानीय नागरिकले रोजगारी पाउँदा वैदेशिक रोजगारीमा जाने बाध्यता कम हुने र मुलुकमा बेरोजगारको संख्या कम गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।