यादवनेतृत्वको अभियान शिक्षा तथा स्वास्थ्यमा समेत केन्द्रित हुँदै
टोलपडोस समाचारदाता
काठमाडौँ, १५ साउन ।
सङ्घीय हिन्दु गणतन्त्रका लागि शान्तिपूर्ण एवम् अहिँसात्मक आन्दोलन गरिरहेको राष्ट्रिय एकता अभियान नेपालले शिक्षा तथा स्वास्थ्यसम्बद्ध मुद्दामा समेत चासो लिएको छ ।
अभियानका केन्द्रीय संयोजक विनय यादव नेतृत्वको एक समूहले सङ्घीय स्वास्थ्य तथा जनसँख्या मन्त्री प्रदीप पौडेललाई भेटेर बारा जिल्लाको परवानीपुर गाउँपालिकास्थित रामपुर स्वास्थ्य चौकीको स्तरोन्नतिको माग गरेको छ ।
सो स्वास्थ्यसंस्थाको अवस्था अत्यन्तै जर्जर र दयनीय भएको बताउँदै अभियानले २५ वटा गाउँ र एक लाखभन्दा बढी जनसंख्याको निर्भरता रहेको स्वास्थ्यसंस्थाका लागि आवश्यक र उचित भौतिक पूर्वाधार एवम् जनशक्ति तथा उपकरणलगायत व्यवस्थापन गरिनुपर्ने विषयमा मन्त्री पौडेलको ध्यानाकृष्ट गराएको छ ।
अभियानले मन्त्री पौडेललाई मंगलबार बुझाएको ज्ञापनपत्रमा सो स्वास्थ्यसंस्थामा पर्याप्त जनशक्ति, आवश्यक औषधी र उपकरण अभावसँगै प्रदान गरिने स्वास्थ्य सेवासुविधा अत्यन्तै कमजोर भएकाले बढी शुल्क तिरेर निजी स्वास्थसंस्थामा जान सेवाग्राही बाध्य रहेका उल्लेख गरिएको छ ।
अभियानका संयोजक यादवले समस्या समाधानका लागि तत्काल कदम चालिए रामपुरक्षेत्रमा स्वास्थ्यसेवामा सुधार हुन र जीवनस्तरमा गुणात्मक वृद्धि हुने विश्वास व्यक्त गरे ।