मनिलामा उपेन्द्र यादवले भने, ’पर्यावरण, युद्ध र प्राकृतिक संकटको सामना गर्न साझा प्रतिबद्धता चाहिन्छ’

२०८१ श्रावण १६, बुधबार १९:३६

फिलिपिन्स, १६ असार ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले युद्ध, पर्यावरण र प्राकृतिक विपद्जस्ता विश्वव्यापी संकटको सामना गर्न एसियाली देशहरूबीच साझा नीति र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

फिलिपिन्सको राजधानी मनिलामा बुधबार ग्लोबल लिडरको प्यानल सत्रमा बोल्दै अध्यक्ष यादवले एसियाली देशहरूका बीचमा साझा कार्यक्रम, नीति र प्रतिबद्धता नभएसम्म विश्वस्तरका संकटहरूको सामना गर्न नसकिने बताएका हुन् ।

सम्मेलनको अन्तिम दिन ग्लोबल लिडर प्यानललाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ’सामाजिक न्याय र मानवअधिकार संरक्षणका दृष्टिले विभेदमा पारिएका जनता नै संकटको भुमरीमा परेका हुन्छन् । त्यसका लागि पनि एसियाली देशहरूबीच साझा कार्यक्रम र नीति बन्न जरुरी छ ।’

अध्यक्ष यादवले प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यु प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी लिडर सम्मेलनलाई सम्बोधन गरेका छन् ।
एसियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई २९ तारिखदेखि आयोजित ग्लोबल लिडरको सम्मेलनमा भाग लिन अध्यक्ष यादव गत असार १३ गते मनिला प्रस्थान गरेका थिए ।

उक्त सम्मेलनमा एसियाका ४१ देशमा प्रतिनिधि नेताहरू सहभागी थिए । जुलाई २९ तारिखदेखि सुरु भएको सो सम्मेलन आज सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीका सदस्य रहेको छ । अध्यक्ष यादव भोलि बिहीबार राति १०.३० बजे मलेसिया एयरलाइन्सको विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

जसपा नेपाल सञ्चार डेस्कबाट प्राप्त

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH