‘सेवासुविधा होइन, उपलब्ध साधनस्रोतबाट काम गर्नु मेरो प्राथमिकता हो’
टोलपडोस समाचारदाता
जनकपुरधाम, २१ साउन ।
मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानीकुमारी तिवारीले साउन २३ गतेबाट आरम्भ हुने एसइईको पूरक (गे्रडवृद्धि) परीक्षालाई मर्यादित बनाइने बताएकी छिन् ।
सोमबार जनकपुरधाममा विशिष्ठ पत्रकारहरूसँगको अन्तक्र्रियामा मन्त्री तिवारीले मर्यादित परीक्षा सञ्चालनका लागि सहयोग गर्न परीक्षर्थीका अभिभावकलाई आह्वान गरिन् ।
साउन ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा गराउने जिम्मा संघीय सरकारले प्रदेश सरकारहरूलाई दिएको छ ।
‘परीक्षामा नक्कल गर्ने प्रवृत्तिले विद्यार्थीको भविष्य बिग्रिँदै गएको छ,’ उनले भनिन्, ‘अभिभावकहरू आफ्ना सन्तानको भविष्य राम्रो होस् भन्ने चाहन्छन् । त्यसैले मर्यादित परीक्षाका लागि उहाँहरूको सहयोग हुनेमा विश्वस्त छु ।’
शिक्षा क्षेत्रमा बेथिति व्याप्त रहेको भन्दै मन्त्री शर्माले शिक्षा क्षेत्र सुधारका लागि सङ्घ र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिइन् । उनले सङ्घ सरकारले शिक्षा ऐन नल्याउँदा समस्या उत्पन्न भइरहेको बताइन् ।
उनले सङ्घीय र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न समय लाग्ने हुँदा प्रदेश सरकारले आफैले गर्न सक्ने काम तत्काल अघि बढाइने पनि बताइन् ।
मन्त्री शर्माले आफू सेवासुविधाका लागि मन्त्रालयमा नबसेर उपलब्ध स्रोतसाधनबाट काम गर्न खोजेको प्रस्ट्याइन् ।
शिक्षा तथा सँस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार श्यामसुन्दर शशिले मधेशमा नीतिगत रूपमा शिक्षामा विभेद भएको बताए ।
आधारभूत तहमा कोसी प्रदेशमा २६ विद्यार्थीमा एक शिक्षक रहेको अवस्थामा मधेशमा ६३ विद्यार्थीलाई एक शिक्षकले पढाउनुपर्ने अवस्था भएको भन्दै पत्रकार शशिले माध्यमिक तहमा कोसी प्रदेशमा ३० जना विद्यार्थीमा एक शिक्षक तर मधेशमा ९७ जना विद्यार्थीका लागि एक शिक्षकले पढाउनुपर्ने अवस्था विभेदपूर्ण अवस्था रहेको बताए ।
यसमा सुधार गर्नका लागि प्रदेश सरकारले शिक्षा ऐन ल्याएर अगाडि बढ्नुपर्ने उनले सुझाए ।