मन्त्रालयहरूका वेभसाइट अपडेट गर्न मुख्यमन्त्री सिँहको निर्देशन
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशका मन्त्रालयहरूका वेभसाइट अपडेट गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उनले वेभसाइट अपडेट गर्ने विषयमा मन्त्रालयका सचिव र सूचना अधिकारीहरूलाई जिम्मेवार बन्नुपर्ने बताए ।
मधेश प्रदेश सरकारको पेफा मूल्याङ्कनसम्बन्धी कार्यशाला गोष्ठीलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री सिँहले मन्त्रालयहरूका वेभसाइटमा सचिव तथा सूचना अधिकारीहरूका फोटा र नम्बर नराखिएको भन्दै पारदर्शी हुने बेलामा सूचना लुकाउनुपर्ने आवश्यक नभएको उल्लेख गरे ।
मुख्यमन्त्री सिँहले कर्मचारीहरू आआफ्ना दायित्व निर्वाह गर्नुपर्ने भन्दै कार्यसम्पादनमा राजनीतिक नेतृत्वले बाधाअड्चन नदिई सहयोग गर्ने बताए ।
मुख्यमन्त्री सिँहले सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादन मूल्याङ्कन गर्ने पद्धति(पेफा) लाई प्रभावकारी बनाउन सार्वजनिक वित्तीय व्यवस्थापनका प्रमुख घटकहरू र बृहत् गतिविधिहरूका विशेषता पहिचान गरेर अघि बढ्नुपर्ने बताए ।
मुख्यमन्त्री सिँहले उपलब्ध स्रोत, सेवाहरूको प्रवाहीकरण र सरकारी नीति र उद्देश्य एकसाथ जोडेर सार्वजनिक वित्तीय प्रणालीलाई परिणाममुखी बनाउन पेफाले अपेक्षा गरेको मानक महत्वपूर्ण हुने औँल्याए । ‘काठमाडौँले यस्तै प्रणालीहरूमार्फत मधेशको चित्र हेर्छ, त्यसैले कर्मचारीहरूले आउटपुटमा ध्यान दिनुपर्छ,’ उनले भने ।
उनले वित्तीय प्रणालीमा कार्यरत कर्मचारीको युजर आइडी र पासवर्डको नियमित र कुशल प्रयोग हुनुपर्ने पनि बताए । उनले काममा ढिलाइ गर्न नहुने भन्दै आजका काम भोलि नगरेर अहिले नै गर्नुपर्ने कर्मचारीलाई सुझाए ।
प्रदेशको अर्थ मन्त्रालयद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अर्थमन्त्री सुनिलकुमार यादवले गरेका थिए ।