गृहमन्त्रीलाई कार्यदलले बुझायो प्रतिवेदन

भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग/डिजाइन बिना नै ग्रामीण सडक खनिएकाले सिमलताल दुर्घटना 

२०८१ श्रावण २२, मंगलवार १८:५६
काठमाडौँ, २२ साउन (रासस) । 
चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।
गृहमन्त्री लेखकले पदबहाली गरेपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा रायसमेत दिएको छ ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेकाप्रति चिन्ता व्यक्त गरे ।
गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नाका साथै अरू निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए । “यो गम्भीर र संवेदनशील विषय छ,” मन्त्री लेखकले भने, “हवाई दुर्घटना भयो भने आयोग र समिति बनाउने, दुर्घटनाका बारेमा जानकारी लिने, छानबिन हुने गरिन्थ्यो । सडक दुर्घटनाको एउटै निश्चित घटनालाई लिएर यो पहिलो समिति बनेको हो ।”
सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए । ६२ जना बेपत्ता हुनेगरी भएको दुर्घटनाको गम्भीरता बुझी आफूले अध्ययन कार्यदल बनाएको उनको भनाइ थियो ।
त्यस्तै, सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुईवटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदलले निकालेको छ ।
प्रतिवेदन पेस गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग÷डिजाइन बिना नै ग्रामीण सडक खनिएको बताए । “दुर्घटनास्थलमा ठूलो मात्रामा ‘डेब्रिज’ (गेग्र्यान बहाव) भएको देखिन्छ, त्यहाँको भूगोल कमजोर पनि छ,” संयोजक रिजालले भने, “उक्त स्थानीय सडक निर्माणमा सुरक्षाको दृष्टिकोणले टेवा÷पर्खाल लगाएको पनि देखिँदैन ।” दुर्घटनामा परी नदीमा हराएका यात्रुमध्ये २४ जना शव फेला परे पनि ४० जनाको अवस्था अझै अज्ञात छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH