मनोमानी ढंगले गरिने राजनीतिक नियुक्ति काँग्रेसलाई स्वीकार्य हुँदैन : उपसभापति सिँह
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० साउन ।
नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवम् पूर्वमन्त्री वीरेन्द्रप्रसाद सिँहले दलीय समझदारीका आधारमा अघि बढ्ने गठबन्धन सरकारको मान्यता, व्यवहार र अभ्यास विपरीत प्रदेश सरकारले मनोमानी ढंगले कुनै पनि राजनीतिक नियुक्ति गरेमा अस्वीकार्य हुने बताएका छन् ।
रौतहट सदरमुकाम गौरमा मंगलबार आयोजित एक धार्मिक कार्यक्रममा काँग्रेसका उपसभापति सिँहले सरकारमा सहभागी दलहरूबीच सहमति नगरीकनै प्रदेश लोकसेवा आयोगका अध्यक्ष र नीति तथा योजना आयोगका दुई सदस्यमा नेकपा एमालेले नियुक्ति गराएको आपत्तिजनक रहेको टिप्पणी गरे ।
‘प्रदेशमा १७ वटा जिम्मेवारीका लागि राजनीतिक नियुक्ति हुन्छ । त्यसमा नियुक्ति गर्नुपूर्व दलहरूबीच सहमति गरेर मात्र अघि बढ्नुपर्छ,’ उनले भने ।
उनले मधेश प्रदेशको मिडिया काउन्सिल अध्यक्ष नियुक्तिमा नेकपा एमालेले कुनै पनि किसिमको सहमति नगरीकन सीधै सिफारिस गर्न लागेको जानकारी आफूले प्राप्त गरेको र गठबन्धनमा सहभागी कुनै पनि दल त्यसअनुसार अघि बढ्नु दुर्भाग्यपूर्ण हुने पनि प्रस्ट्याए ।
उपसभापति सिँहले दलीय सहमति भनेको अमुक दलका व्यक्ति नभएर निश्चित दलका संस्थागत निर्णयलाई मान्नुपर्ने पनि बताए ।
कार्यक्रममा उपसभापति सिँहले बिचौलिया आदिबाट प्रविष्ट गराइएको बजेट संशोधन गर्ने विषयमा समेत दलीय सहमति हुनुपर्ने बताए । उनले त्रुटिपूर्ण बजेट परिमार्जन गरिँदा आवश्यक्ता र औचित्यका आधारमा संशोधित बजेट विनियोजन हुनुपर्ने उल्लेख गरे ।