सरकारी स्वामित्वका प्रयोगविहीन भवनको अनुगमन गर्यो मधेश सरकार
जनकपुरधाम,३१ साउन। मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।
बिहीबार मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूले मिथिला नगरपालिकाको नकटाझिज रहेको कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको अनुगमन गरेको हो ।
संघीय सरकारको मातहतमा रहेका जनकपुरस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले बताए ।
उनका अनुसार प्रदेश सरकारमा चारवटा मन्त्रालयहरू ‘रेड जोन’ मा छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीको चाँप अनुसार पर्याप्त ठाउँ नभएकोले यी दुई ठाउँको विकल्पका लागि प्रयोगविहीन सरकारी संरचनाको अवलोकन गरिएको उनले बताए ।
त्यसैगरी,जनकपुरधामको मुजेलियास्थित रहेको प्रदेश जनस्वास्थ्य कार्यलय,प्रदेश रक्त संचार सेवा र रामानन्द चौकस्थित बागवानीमा प्रदेश सरकारको लगानीमा निर्माणधिन अवस्थामा रहेका भवनको अनुगमन गरेका छ।
उनले भने, ‘आज सबै मन्त्रीज्यूहरू सल्लाह गरेर अनुगमनमा निस्केका हौँ,अनुगमन पनि गरियो । अब यी कार्यालयहरू संघीय सरकार मातहत छन् । समन्वय गरेर प्रदेश सरकारले विकल्पमा प्रयोग गर्ने योजना बनाउने छ । संघीय सरकारले सहमति दिएमा सबै जीर्ण भवनहरूलाई मर्मत तथा व्यवस्थित गरेर प्रयोगमा ल्याउँछौँ ।’
प्रदेश सरकारले अनुगमन गरेको नकटाझिज सरकारको स्वामित्वमा २८ बिघा जग्गा रहेको छ । त्यहाँ अहिले कृषि बिरुवा, धान, गहुँ उत्पादनको कार्य भइरहेको अनुगमनमा पाइएको प्रदेश सरकारको टोलीले जानकारी दिएको छ । प्रदेश सरकारबाट मुख्यमन्त्री सिंहसहित भौतिक मन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री सुनिल कुमार यादव,कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा मन्त्री रानी शर्मालगायतको सबै मन्त्रीहरुको उपस्थिति थियो ।