यो भिन्नता छ जनमत सरकार र अन्यमा : डा.सिके राउतको सचिवालय
टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ भदौ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माणका लागि सङ्घर्षरत समूहसँग मधेश प्रदेश सरकारको सम्झौताले जनमत पार्टीको सरकार र अन्यबीचमा भिन्नतालाई प्रस्ट पारेको टिप्पणी गरेको छ ।
नयाँ कमला पुल निर्माणका लागि आमरण अनसन गरिरहेका अभियन्ता र प्रदेश सरकारबीच शुक्रबार सहमति भएपछि डा.राउतको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा सो टिप्पणी सार्वजनिक गरेको हो ।
सो टिप्पणीमा जनमत पार्टीको नेतृत्वमा किसान आन्दोलनजस्तो घनघोर आन्दोलन महिनौंसम्म गर्दा जसपाकै कृषिमन्त्रीले ज्ञापनपत्र समेत नबुझेको स्मरण गराइएको छ ।
तत्कालीन जसपा सरकारले आन्दोलनकारीसँग छलफल गर्ने, सम्मान दिने, सम्झौता गर्ने वा जनतालाई आश्वासन दिने कुरा परको भएको उल्लेख गर्दै डा. राउतको सचिवालयले उल्टै जसपाका नेताहरूले आन्दोलनकारीलाई ज्यान मार्ने धम्की दिँदै आएका विगत सामाजिक सञ्जालमा साझा गरेको छ ।