संसदको बाझाबाझ हेरेर गएका विद्यार्थीहरूले समरीमा के लेख्नुहोलाः रञ्जिता श्रेष्ठ

२०८१ भाद्र १२, बुधबार २३:३३

काठमाडौं, १२ भदौ। नागरिक उन्मुक्ति पार्टीकी सांसद एवम् अध्यक्ष रञ्जिता श्रेष्ठले संसद हेर्न र बुझ्न आएका विद्यार्थीहरू सत्तापक्ष र प्रतपक्षी सांसदहरूको बाझाबाझका कारण उठेर हिँडेको बताएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरूको बाझाबाझ साम्य भएपछि बोलेकी श्रेष्ठले सदनमा सत्तापक्ष र विपक्षी सांसदहरूबीच भनाभन हेर्न नसकेर विद्यार्थीहरू बाहिरिएको र त्यसले उनीहरूको मनोविज्ञानमा संसदप्रति नकारात्मक धारणा पैदा भएको बताएकी हुन्।

‘उहाँहरू भट्टाभट उठेर एक्जिट हुनुहुँदै थियो। शायद उहाँहरू अभिभावकहरूले उहाँहरुलाई भनेर पठाउनुभएको थियो वा उहाँहरूले पढेर आउनुभएको थियो- अनिकालमा बीऊ जोगाउनु हुलमुलमा जिउ जोगाउनु भन्ने उखान याद आएर हुनुपर्छ उहाँहरू उठ्दै जानुभयो,’ उनले भनिन्।

ती विद्यार्थीहरूले समरीमा के लेख्छन् भन्ने पनि श्रेष्ठले बताइन्।

‘आजको दृश्यबारे उहाँहरूले स्कुलमा समरी लेखेर बुझाउनुहुन्छ होला- ‘सदन भनेको यस्तै हो सरकार भनेको यस्तै हो हाम्रा आमाबुबाले भोट दिएर जिताएका हाम्रा माननीयहरू गरिमामय संसदमा गएर यस्तै गर्दा रहेछन्,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH