मधेश प्रदेश

मुख्यमन्त्री सिँहको अनुगमनको प्रशंसा प्रदेशसभामा

२०८१ भाद्र १३, बिहीबार १९:४८

टोलपडोस समाचारदाता
जनकपुरधाम, १३ भदौ ।
मधेश प्रदेशका प्रादेशिक अस्पतालहरूको निरीक्षण तथा मुसहर बस्ती आदिमा अवलोकन गर्ने मुख्यमन्त्री सतिशकुमार सिँहको कार्य सराहनीय रहेको प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

प्रदेशसभाको तेस्रो अधिवेशनको २८ औँ अधिवेशनमा प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले मुख्यमन्त्री सिँहले अस्पताल तथा मुसहर बस्ती अनुगमन गरेको काम राम्रो भएको बताए । उनले यस्ता निरीक्षण कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

निजी विद्यालय तथा निजी अस्पताल मापदण्डअनुसार चलेका वा नचलेका विषयमा अनुगमन हुनुपर्ने प्रदेशसभा सदस्य चौधरीले उल्लेख गरे । ‘बोर्डिङ स्कुल र नर्सिङ्ग होम लगायतका स्वास्थ्य संस्था च्याउझैँ उम्रिएका छन् । ती संस्थाले सुविधा नदिएर शोषण गरिरहेका छन् । जुन सरकारले दिए पनि एउटा पनि नसिंङ्ग होम मापदण्डअनुसारका छैनन्,’ उनले भने, ‘ती संस्थाले कसरी स्वीकृति पायो ।’

पछिल्ला दिनमा निजी स्वास्थ्य संस्थाहरूलाई यसअघिका सरकारहरूले स्वीकृति दिएका थिए । जनमत नेतृत्वमा सरकार गठन भएयता कुनै पनि स्वास्थ्य संस्थालाई स्वीकृति दिइएको छैन ।

प्रदेशसभा सदस्य चौधरीले प्रदेशमा एउटा टेबुलबाट अर्को टेबुलमा फाइल आउन छ महिनाभन्दा बढी समय लाग्ने गरेको भन्दै यसले जनतामा सुशासन र परिवर्तनको अनुभूति नहुने औंल्याए । संघमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेका प्रश्नोत्तर कार्यक्रमकै शैलीमा मधेश प्रदेशसभामा समेत मुख्यमन्त्री र मन्त्रीसँग सांसदको सबालजबाफ हुनुपर्ने माग गरे । यसले सरकार जिम्मेवार हुने र कार्यसम्पादनको बाटो सहज हुने उनको कथन थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH