मधेश प्रदेश

लहानस्थित प्रादेशिक अस्पतालमा मुख्यमन्त्री सिँहको छड्के अनुगमन

२०८१ भाद्र १४, शुक्रबार २२:५२


टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ भदौ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्योपचारमा बेवास्ता गर्ने र उपचार प्रक्रिया महँगो तथा दिक्कलाग्दो हुनेगरी गरीबगुरुवाको पहुँचबाहिर हुन थालेको गुनासोपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शुक्रबार राति रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन गरेका छन् ।

सरकारद्वारा वित्तपोषित स्वास्थ्यसंस्था लगायत विभिन्न संस्थाको छड्के निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री सिँह शुक्रबार अबेर साँझ रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिँहले अस्पतालका विभिन्न विभागमा गएर त्यहाँबाट हुने कार्यका बारेमा जानकारी लिनुका साथै ती कार्य नियमित र त्वरित भएका वा नभएका बारेमा जिज्ञासा राखेका थिए । उनले अस्पतालका जनशक्ति र स्वास्थ्य उपकरणका विषयमा पनि चासो लिएका छन् ।

अनुगमनक्रममा त्यहाँ उपचारका लागि आएका बिरामी तथा कुरुवाहरूले अस्पतालका बेथितिबारे मुख्यमन्त्री सिँहलाई खुलेर जानकारी गराएका छन् । धेरैजसो कुरुवाले बिरामीको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले समय नदिएको, सही उपचार गरिरहेको भरोसा नदिलाएको र सानातिना समस्याका लागि बिरामीलाई बाहिर गएर उपचार गराउन अस्पतालमा कार्यरत जनशक्तिले दबाब दिएको गुनासो गरेका छन् ।

एक कुरुवाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लहानभन्दा पर गोलबजारबाट सधैँ आउजाउ गर्ने हुँदा अस्पतालमा उपचार व्यवस्थापन नियमित र प्रभावकारी बन्न नसकेको बताए ।

निरीक्षणक्रममा मुख्यमन्त्री सिँहले सर्वसाधारणको उपचारमा कुनै पनि किसिमको हेलचेक्रयाइँ नगर्न अस्पतालका कर्मचारीहरूलाई निर्देशन दिए । ‘कुनै पनि निहुँमा उपचारकार्यमा ढिलाइ र हेलचेक्रयाइँ बर्दाश्त गरिँदैन,’ अस्पतालका कर्मचारीहरूलाई मुख्यमन्त्री सिँहले भने, ‘असल काम गर्नेलाई पुरस्कार तथा प्रोत्साहन अनि गलत गर्नेलाई कारबाही गर्ने सरकारको नीति स्वास्थ्यसंस्थामा पनि कडाइका साथ अवलम्बन गरिनेछ ।’

उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्डको वासस्थलभन्दा पनि उनले अस्पतालमा समय दिएको वा नदिएको तथा अस्पतालका कार्य व्यवस्थित गर्ने दायित्व पुरा गरे वा नगरेको विषय महत्त्वपूर्ण रहेको भन्दै त्यस विषयमा प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले सम्बन्धित अधिकारीसँग स्पस्टीकरण लिने बताए ।

उनले सेवाग्राहीले पाउनुपर्ने सेवासुविधा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै छड्के अनुगमनको परिणाम अस्पतालमा प्रत्याभूत गरिने सुधारका रूपमा देखिने बताए ।

यसअघि मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित प्रादेशिक अस्पताल र जलेश्वरस्थित प्रादेशिक अस्पतालमा फरकफरक दिन छड्के निरीक्षण गरेका थिए । सो निरीक्षणक्रममा देखिएका कमीकमजोरीका बारेमा दुवै अस्पतालका प्रशासनको ध्यानाकृष्ट गराउँदै प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH