बर्खायाममा टापुमा परिणत हुने गाउँका कथाबेथा

‘मुख्यमन्त्रीको इरिक्सा यात्राबाट हाम्रा दुःखका दिन सकियोस् ।’

२०८१ भाद्र १५, शनिबार २२:३२

टोलपडोस समाचारदाता

जनकपुरधाम, १५ भदौ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको यात्रा थियो आफू अध्यक्ष रहेका बेला तिलाठी कोईलाडी गाउँ कार्यपालिका सदस्य रहेकी रधियादेवी खङको दुःखद निधनपछि किरियापुत्री बसेकालाई समवेदना व्यक्त गर्न जाने । तर, यो यात्राको अर्को पाटो पनि थियो । पहिलो स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएको गाउँपालिकाको दुईवटा तस्बिर उधिन्यो । पहिलो तस्बिर, नदीले घेरिएको समथर भूभागमा सडकको पहुँच हुन नसक्नु तथा अधुरा तथा अपुरा पुलको र दोस्रो तस्बिर पक्की पुल अभावमा नदी तर्न अझै वर्षौअघिको झोलुङ्गे पुलको ।

दुवै कथामा तिलाठीकोईलाडी गाउँपालिका वडा नम्बर ५ का बासिन्दाको दुःख, पीडा अनि सकसका कथा छन् । सडकपुल बन्ने स्थानीयको आशा र त्यसपछि कहिले सरकारी अधिकारी त कहिले ठेकेदारको लापारबाहीले उत्पन्न गहिरो निराशाको साक्षी बनेको छ दक्षिणी मधेशको यो भूभाग । यस ठाउँका बासिन्दालाई प्रकृतिले वरपर नदी नै नदी दिएको छ तर त्यहीँ प्रकृतिप्रदत्त जलप्रवाहले बर्खार र बाढीका बेला टापुको बासिन्दामा परिणत गरेको छ । आकास बर्सिरहँदा गाउँघरबाट आउजाउ गर्न नसक्ने निरीह र किंकर्तव्यविमूढ नागरिकको वर्षौदेखि बिसेक हुन नसकेको घाउ बोकेको छ तिलाठीकोईलाडी वडा नम्बर ५ को कुशहा टोल ।

शनिबार मुख्यमन्त्री सिँह आफ्नो थातथलो यसै गाउँपालिकाको वडा नम्बर ४ चट्टी टोलबाट कुशहा टोलसम्मको यात्रा थाले । करिब एक किलोमिटरको दुरीमा जिता नदीको ठिङ उभिएका पिलरमात्र भएको पुलनजिकबाट यात्राको आरम्भ थियो र बीचमा पर्ने महुली नदीले पर्खँदै गरेको पुल ।

वर्षौँदेखि पुल नबन्दा कुशहा टोससम्म पुग्न आफू अध्यक्ष हुँदा बनाइदिएको झोलुङ्गे पुल भएर मुख्यमन्त्री सिँह कुशहा टोल पुगे । उनको यात्रा इरिक्सामा भएको थियो । हिजोआज यो इरिक्सा नै हो जसले कुशहा टोलसम्म पुग्नेहरूका लागि यात्राको दौँतरी बनेको छ । ठूला मोटर गुड्न नसक्ने ठाउँमा सत्तामा भएका नेता वा सरकारी अधिकारी बिरलै पुग्छन् । झन् ठूला मोटर गुड्न नसक्ने भनेपछि ती ठाउँमा जाने मेसो कहिल्यै गर्दैनन् । तर, मुख्यमन्त्री सिँहले भने आफ्नो कार्यकालमा बनेको झोलुङ्गे पुल भएर जिता तरे अनि महुली छिचोलेर पुगे कुशहा टोल ।

मुख्यमन्त्रीको इरिक्साको यात्रा देखेर स्थानीय दङमात्र परेनन्, पत्याउन मुश्किल नै हुने गरी जिब्रो टोके । सुरक्षाकर्मीसँगै रहेको देखेपछि गाउँतिर कुनै ठूलै नेता आएका अनुमान गरेका तिनीहरूले आफ्नै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य र मुख्यमन्त्री बनेका सिँह आएको थाहा पाएपछि हर्षबढाइँ गरे । अनि मुक्तकण्ठले प्रशंसा पनि गरे । मानौँ अब उनीहरूका दुःखका दिन सकिने भए ।

गाउँलेले मुख्यमन्त्री सिँहलाई भने, ‘चुनावताका भोट माग्नमात्र नेता यहाँ आउँथे तर त्यसपछि पनि हाम्रा पिरमर्का बुझ्न आको नेता तपाईँ नै हो ।’ खासमा मुख्यमन्त्री सिँहले पनि त्यहाँ पुल पुरा हुन नसकेका र सडक बन्न नसकेको चिन्ताफिकिर नै गाउँलेहरूलाई साझा गरेका थिए ।

उनले ठेकेदारको मनोमानी र सरकारी अधिकारीको बेवास्ताले गजेन्द्रनारायण सिँहकै पालादेखि बन्न थालेका भौतिक पूर्वाधार अझै पुरा हुन नसकेकोमा दुःखमनाउ गरेका थिए ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले ठेकेदारको बदमासीले जिल्लाका थुप्रा आयोजना पुरा हुन नसकेको केही दिनअघिमात्र बताएका थिए । मुख्यमन्त्रीको पनि बुझाइ पनि त्यही थियो । एसियाली विकास बैँकको ऋण सहयोगमा जिता खोलाको नदीको पुलका लागि बनाइएको प्रारम्भिक संरचना नै बिग्रेपछि डिजाइन नै फेरिनुपर्ने स्थिति आयो भने महुली नदीको पुलको काम सुरु नै भएन । धेरै पहिला ट्रयाक खोलिएको कुशहा–जण्डौल सडक पनि बन्न सकेन ।

मुख्यमन्त्री सिँहले दुवै नदीमा पुल बनाउन चालू आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेको र काम शीघ्र नै पुरा हुने बताइरहँदा वर्षौदेखि अँध्यारो भएका स्थानीयको अनुहारमा चमक आएको थियो ।

उनीहरूले भने, ‘मुख्यमन्त्रीको इरिक्सा यात्राबाट हाम्रा दुःखका दिन सकियोस् ।’

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH