मधेश प्रदेश

जब मुख्यमन्त्री सिँहले वनअतिक्रमणबारे डिएफओलाई सूचना दिए

२०८१ भाद्र १९, बुधबार २१:४०


टोलपडोस समाचारदाता

जनकपुरधाम, १९ भदौ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको निर्देशनमा डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित भ्युटावर छेउको वनक्षेत्रमा पर्ने जग्गामा लगाइएका मकैलगायतका बाली हटाएको छ ।

जिल्लाको महादेव स्थान सामुदायिक वनको जग्गा अतिक्रमण गरी डेढ बिघामा लगाइएका मकै, मासको दाल लगायतका बालीलाई वनकर्मीहरूको टोलीले हटाएर जग्गा खाली गराएको हो । वनक्षेत्रको सो जग्गामा सोही क्षेत्रका केही बासिन्दाले गत एक वर्षयता खेतीपाती सुरु गरेका थिए ।

बुधबार बिहान मुख्यमन्त्री सिँहले वनक्षेत्र सो जग्गा अतिक्रमण गरी केही व्यक्तिले खेतीपाती गरिरहेको जानकारी डिभिजन वन कार्यालय रौतहटका प्रमुख एवम् डिभिजनल वन अधिकृत हेमन्त साहलाई दिएका थिए । मुख्यमन्त्रीबाटै वन अतिक्रमणबारे सूचना प्राप्त गरेपछि डिभिजनल वन अधिकृत साहले तत्काल वनकर्मीहरूको टोली परिचालन गरी त्यहाँ लगाइएका बाली उखेलेर जग्गा खाली गराएका छन् ।

‘अतिक्रमणकारीहरूले एक वर्ष मकैलगाययतका बाली भित्र्याइसकेका छन् । यस वर्ष भने भर्खरै बाली लगाएका बेला मुख्यमन्त्रीजीबाट त्यसबारे सूचना तथा निर्देशन प्राप्त भएपछि तत्काल वनकर्मीहरूको टोली परिचालन गरेर जग्गा खाली गराएका छौँ,’ डिभिजनल वन अधिकृत साहले भने, ‘भोलि(बिहीबार) पनि त्यस ठाउँमा बाँकी अतिक्रमण हटाउन खटिनेछ ।’

अतिक्रमणमुक्त गराइएको जग्गामा बिहीबार नै वृक्षरोपण गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।

मंगलबार मात्र मुख्यमन्त्री सिँहले प्रदेशका आठवटै जिल्लाका डिभिजनल वन अधिकृतहरूलाई प्रत्येक महिनामा कम्तीमा एक ठाउँको पुरानो वन अतिक्रमण पहिचान गरी हटाउन र नयाँ वन अतिक्रमण हुन नदिन निर्देशन दिएका थिए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH