एकढिक्का भए इन्जिनियरहरूले समानान्तर सत्ता चलाउँछ : जनमत अध्यक्ष सिके राउत
टोलपडोस समाचारदाता
जनकपुरधाम, २४ भदौ ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सहभागिता, नेतृत्व र अधिकारका कुरा मधेशीले गर्दा इन्जिनियर तथा डाक्टरमा मधेशीको सँख्या बढी भएको भन्दै सचिवलगायत कर्मचारी किन बनाउनुपर्यो भन्ने प्रश्न गर्ने राज्यसत्तालाई नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को चुनावमा इन्जिनियर्स जनमत युनियन (इजु) सहितको गठबन्धन जिताएर जबाफ दिनुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति र मधेश प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि इन्जिनियर्स जनमत युनियन, रिन तथा पिन गठबन्धनद्वारा सोमबार साँझ जनकपुरधाममा आयोजित उम्मेदवार परिचय तथा अन्तक्र्रिया कार्यक्रममा जनमत अध्यक्ष डा.राउतले सो कुरा बताएका हुन् ।
उनले डाक्टर र इन्जिनियरहरूमा मधेशी बढी भएकाले अर्थोक बन्न नहुने भाष्य बनाइएका बेला एनईएमा इजु, पिन र रिन गठबन्धनको जितलाई आत्मसम्मानको विषयका रूपमा लिनुपर्ने उल्लेख गरे । डा.राउतले एनईएमा प्रतिनिधित्वको कुरा मधेशी इन्जिनियरका लागि चुनौती रहेको पनि प्रस्ट्याए ।
डाँडाकाँडामा ट्वाइलेट, ब्लक बनाउने इन्जिनियर मतदानका बेला चासो नलिँदा र निर्वाचनका लागि नउत्रिँदा अधिकार माग्नु नै व्यर्थ भएको भन्दै उनले एनईएमा हिस्सा लिन जुनसुकै ठाउँमा भए र काम गरे पनि इजु, पिन र रिन गठबन्धनलाई मत दिन आह्वान गरे ।
जनमत इन्जिनियर्सको पार्टी र इन्जिनियर्सलाई बढाउने भएको थप्दै अध्यक्ष डा.राउतले देश बनाउने दुरदृष्टि इन्जिनियरसँगै भएकाले देशमाथि इन्जिनियरको कब्जाका लागि पनि इजु, पिन र रिन गठबन्धनका पक्षमा मतदान गर्नुपर्ने औंल्याए ।
उनले कमजोर रहेको एनईएलाई इन्जिनियर्सका हकहित र अधिकार स्थापित गराउने शक्तिशाली संस्था बनाउनुपर्नेमा जोड दिँदै मजदुरभन्दा पनि कम दसबाह्र हजार रुपैयाँमा काम गर्नुपर्ने इन्जिनियरलाई सबल र सशक्त बनाउने ऐन, कानुन रर अन्य व्यवस्थाका लागि मूलधारका पार्टीले काम नगरेको तर इन्जिनियरलाई भोट बैंकका रूपमा प्रयोग गरेको बताए । ‘जनमत पार्टी इन्जििनियरको पार्टी हो । जसरी डाक्टरको पीडा डाक्टरले बुझ्छ, त्यसरी इन्जिनियरको पीडा इन्जिनियरले बुझ्छ,’ डा.राउतले भने, ‘इन्जिनियर्सका समस्या समाधान र तिनको भिजन जनमतले लागु गर्नेछ ।’
अध्यक्ष राउतले कानुन, न्याय आदि सेवाका सचिवकै हाराहारीमा इन्जिनियरिङ्ग सेवाबाट समेत सचिव बन्नुपर्ने, इन्जिनियरहरूका लागि प्रशिक्षण केन्द्र स्थापना र हरेक वडा तहमा इन्जिनियरको नियुक्ति आदि विषयका लागि जनमत पार्टी लड्ने बताए ।
‘सडक, ढल, विद्यालय, सामुदायिक भवन, नक्साङ्कन लगायत धेरै काम वडामा नै छन् । हरेक वडामा एउटा इन्जिनियरको नियुक्ति आवश्यक छ,’ डा.राउतले भने, ‘इन्जिनियर नहुँदा बनाइएका संरचनाका कारण बाढी आउँदा घरभित्रमै पानी पस्छ ।’
अध्यक्ष डा.राउतले मन्त्रालयका बजेट बनाउने, बजेट इन्ट्री गर्ने र लगत इस्टिमेट गर्ने काम इन्जिनियरले नै गर्ने हुँदा इन्जिनियरहरू एकढिक्का हुँदा देशमा समानान्तर सरकार चलाउन सक्ने बताए ।
मधेश प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जनमत पार्टीका नेता सतिशकुमार सिँहले देशका दक्ष जनशक्ति विदेशमा अवसर खोजिरहेका बेला जनमत पार्टीका अध्यक्ष डा.सिके राउत देश बनाउने सङ्कल्प, साहस र दृढताका साथ अमेरिकाको प्रतिष्ठित संस्थामा वैज्ञानिकको भूमिका त्यागेर स्वदेश फर्कनुभएको दृष्टान्त उदाहरणीय भएको बताए ।
उनले डा.राउतको देश र जनताप्रतिको निष्ठा अनुकरणीय भएको भन्दै उहाँको विकास तथा समृद्धि प्रयासमा इन्जिनियरहरू जुट्नुपर्ने औंल्याए । इन्जिनियरिङ्गलाई गुणस्तरीय, मर्यादित एवम् सम्मानित पेसामा परिणत गर्ने र इन्जिनियरको पेसागत हकहितको सुनिश्चितताका लागि जनमत पार्टी सुरुदेखि नै लड्दै आएको मुख्यमन्त्री सिँहको कथन थियो ।
एनईएको चुनावमा इजु, पिन र रिन गठबन्धन जित निश्चित रहेको विश्लेषणसमेत उनले सुनाए ।
एनईएको आगामी २८ गते हुने निर्वाचनमा मधेश प्रदेशमा जनकपुरधाम र वीरगञ्जमा मतदान केन्द्र राखिएका छन् । जनकपुरधाममा एक हजार एक सय १२ र वीरगञ्जमा तीन सय ६६ मतदाता छन् ।
इजु, पिन र रिन गठबन्धन इन्जिनियर रामेश्वरप्रसाद कलवारको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समितिको चुनावमा होमिएको छ भने मधेश प्रदेशको कार्यकारिणी समितिमा इन्जिनियर दिपेन्द्र साहको नेतृत्वमा निर्वाचन लडिरहेको छ ।