तीन दिनभित्र चित्तबुझ्दो उत्तर नआए पार्टीबाट निष्काशन गर्छौं : लोसपा अध्यक्ष ठाकुर
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीका मधेश प्रदेशसभा सदस्य जितेन्द्रप्रसाद सोनार(जितेन्द्र सोनल) लाई आफूलाई संसदीय दलका नेता घोषित गराएका विषयमा तीन दिनभित्र जबाफ दिनेगरी स्पस्टीकरण माग गरेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीको अनुशासन परम्परा र विधानविपरीत आफूखुसी पार्टीको निर्देशन र मनसायविपरीत संसदीय दलका नेता घोषित गरी सभामुखसमक्ष पेस गरेकोमा अनुशासनको कारबाही किन नगर्ने भन्ने स्पस्टीकरण दिन सोनललाई पत्र लेखेका छन् । अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्य जयनुल राइनको अध्यक्षतामा बैठक बोलाई गरिएको सोसम्बन्धी निर्णय मान्य नहुने पनि पत्रमा उल्लेख गरेका छन् ।
त्यसअघि अध्यक्ष ठाकुरले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई अर्को एक पत्र लेखी लोसपा नेपाल संसदीय दलका नेता तथा पदाधिकारी सम्बन्धमा नयाँ आधिकारिक निर्णय नभएको जानकारी गराउँदै प्रदेशसभा सदस्य अभिराम शर्मालाई नै दलका नेतामा निरन्तरता दिन आग्रह गरेका छन् ।
अध्यक्ष ठाकुरले सोनललाई सोधेका स्पस्टीकरणमा चित्तबुझ्दो उत्तर नआए उनलाई पार्टीबाट निष्काशन गरिने समेत जनाएका छन् ।
लोसपा नेपालको मधेश प्रदेशसभामा प्रदेशसभा सदस्य अभिराम शर्मा संसदीय दलका नेता छन् । शर्मा एउटा मुद्दामा तल्लो अदालतबाट दोषी ठहर गरिएकाले उनको प्रदेशसभा सदस्यको हैसियत निलम्बित अवस्थामा छ ।
मधेश आन्दोलनक्रममा शर्मामाथि झुठा र राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले मुद्दा लगाइएको भन्दै मधेश प्रदेशसभामा लोसपा नेपालको संसदीय दलका उपनेता उपेन्द्र महतोले नेता पद अस्वीकार गर्दैआएका थिए ।
गत भदौ १४ गते लोसपा संसदीय दलको बैठक भन्दै पाँच प्रदेशसभाको हस्ताक्षरमा जितेन्द्र सोनललाई संसदीय दलको नेता नियुक्त भएको र त्यस विषयमा सभामुखलाई जानकारी गराउने तथा निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने निर्णय भएको थियो । बैठकको अध्यक्षता प्रदेशसभा सदस्य जयनुल राइनले गरेका थिए ।
मधेश प्रदेशसभामा लोसपाका निलम्बित शर्मालाई छाडेर आठ सदस्य छन् । सोनललाई संसदीय दलका नेता बनाउने निर्णयमा राइन, रमेश पटेल, रामबाबु यादव, सोनल र रमिता प्रधानले हस्ताक्षर गरेका छन् ।
प्रदेशसभा सदस्यहरू रानीकुमारी तिवारी, उपेन्द्र महतो र रूपा यादवले भने निर्णयमा हस्ताक्षर गरेका छैनन् ।
जितेन्द्र सोनल कि जितेन्द्र प्रसाद सोनार ?
जयनुल राइनको अध्यक्षतामा बसेको भनिएको लोसपा नेपाल संसदीय दलको बैठकले दलका नेता जितेन्द्र सोनललाई बनाएको छ भने जितेन्द्रप्रसाद सोनललाई नेता बनाइएको जानकारी प्रदेशसभा सचिवालय र सभामुखलाई दिने तथा निर्णय कार्यान्वयन गर्न सभामुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टी संसदीय दलका उपनेता महतोले प्रदेशसभाले जितेन्द्र सोनल वा जितेन्द्रप्रसाद सोनल लोसपाका प्रदेशसभा सदस्यलाई नचिनेको बताउँदै हतारहतारमा दूषित मानसिकताले निर्णय गर्न खोज्दा त्यस्तो त्रुटि भएको हुन सक्ने बताए ।
लोसपाका मधेश प्रदेशसभा सदस्य जितेन्द्रप्रसाद सोनारलाई पार्टी संसदीय दलका नेता बनाउन बसेको बैठक । तस्बिर : जितेन्द्र सोनलको फेसबुकबाट