उद्धार तथा राहत कार्यमा जुट्न मुख्यमन्त्री सिँहको आग्रह
टोलपडोस समाचारदाता
जनकपुरधाम, १२ असोज ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बर्खाका कारण प्रदेशका कोसीलगायतका विभिन्न नदीहरूमा जलस्तर बढेका र गाउँबस्ती तथा खेतबारीमा नदीका भङ्गालो पसेका विपद्सँग सामना गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् ।
वीरगञ्जमा शनिबार साँझ मुख्यमन्त्री सिँहले बाढीपानीबाट उत्पन्न विपद्मा तीव्रताका साथ उद्धार कार्यलाई निरन्तरता दिन प्रदेशका सुरक्षा अधिकारीहरू तथा सरोकारवालासँग आफू निरन्तर सम्पर्कमा रहेको जानकारी दिए ।
उनले उद्धार कार्यका लागि व्यापक सुरक्षाकर्मी परिचालन भइरहेको तथा विभिन्न नदीका भङ्गालो पसेर जोखिममा रहेका बस्तीबाट स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य भइरहेको र जलस्तर अत्यधिक उच्च रहेका नदीको पुलमा आवागमनमा रोक लगाइएको बताए ।
उनले बाढी प्रभावितका लागि राहत व्यवस्थापन गर्न स्थानीय तहहरूलाई आग्रह गरेका छन् । उनले राहतका लागि स्थानीय तहसँगै, निश्चित स्थानीय तहलाई कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आह्वानसमेत गरे ।
उनले कोसीको जलस्तर निकै बढेको र बराजको पुलमाथिबाट पानी बगिरहेकाले तिलाठी कोईलाडीलगायत तल्लो तटीय क्षेत्रका जनतालाई थप उच्च सतर्कता अपनाउन आग्रह गरे ।
ठाउँठाउँमा नदीको भङ्गालो पसेर सर्लाही तथा रौतहटका केही पालिकाका कतिपय स्थान डुबानमा परे पनि बागमती नदीमा जलस्तर घटेको उनले बताए । उनले साना खोलाको उपद्रोबाट जोगिन समेत चनाखो हुनुपर्ने उल्लेख गरे ।
‘साना खोलाको बढ्दो जलस्तर र तीव्र प्रवाहले बगेर मानिसको मृत्यु भएको र बेपत्ता भएको देखिएको छ । त्यसैले खोलानजिक कुनै किसिमको व्यवहार नगरी सुरक्षित स्थानमा बस्नुस्,’ उनले भने ।
मुख्यमन्त्री सिँहले जोखिममा परेको आकलन हुनेबित्तिकै सुरक्षित स्थानमा सर्न तथा आवश्यक परे उद्धारकर्मीहरूलाई सम्पर्क गर्न समेत तटीय क्षेत्रका बासिन्दालाई आह्वान गरेका छन् ।
मुख्यमन्त्री सिँहले उद्धार तथा राहत कार्यसँगै बाढीका प्रभावबारे समेत विवरण संकलन भइरहेको र सोका आधारमा विपद् व्यवस्थापन कार्य अघि बढाइने पनि बताए ।
सशस्त्र प्रहरी बलका अनुसार शनिबार साँझसम्म प्रदेशमा बाढीका कारण दुईजनाको मृत्यु भएको छ भने ६५ जनाको जीवित उद्धार गरिएको छ । एकजना बेपत्ता भएका छन् ।
त्यस्तै १० ठाउँ डुबानमा परेका छन् भने त्यसबाट प्रभावित घरधुरीको सँख्या १ सय ९६ छ । एक सय ४१ घरधुरीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । १२ ठाउँका १ सय ९५ ठाउँमा जमिन कटान भएको छ भने ९ ठाउँमा सडक अवरुद्ध भएका छन् । सोही कारणले पाँच चौपायाको क्षति भएको छ भने सात घर भत्किएका छन् ।