मधेश प्रदेशमा सरकार परिवर्तनको भ्रम छराइँ दुःखद :  जनमत उपाध्यक्ष कुशवाहा

२०८१ कार्तिक ५, सोमबार २३:०१

‘झुटा कुराले योजना कार्यान्वयनमा ढिलाइ गराउने नियत’

वसन्त कुशवाहा, उपाध्यक्ष, जनमत पार्टी

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ कात्तिक ।
मधेश प्रदेशमा सत्ता परिवर्तन हुने गलत, भ्रामक र मनगढन्त हल्ला फिजाएर सरकारका महत्त्वपूर्ण तथा महत्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुर्याउन खोजिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले बताएका छन् ।

केही अनलाइन सञ्चारमाध्यमले प्रदेशमा सरकार परिवर्तनको हल्ला फिजाएर कर्मचारी र मधेशी जनतालाई भ्रमित गर्न खोजेको भन्दै उनले प्रदेश सरकारले अघि सारेको ७५ भन्दा बढी गौरवका योजना कार्यान्वयन हुने बेला यस्तो भ्रमले मधेशका पक्षमा काम गर्न बाधा उत्पन्न हुने उल्लेख गरे ।

उनले भने, ‘काम ढिला होस् भन्ने नियतले मधेशविरोधीले सरकार परिवर्तनको हल्ला गर्दैछन् । अहिले गौरवका योजना कार्यान्वयनका लागि आवश्यक गृहकार्य पुरा भइसकेको छ । कामका लागि परिपत्रसमेत भइसकेको छ । यस्तोमा अनर्गल हल्लाबाट तिनीहरूले काममा ढिलाइ होस् भन्ने नियत राखेको देखिन्छ ।’

जनमत पार्टी केन्द्रीय सत्ता गठबन्धनमा नै रहेको र गठबन्धनको निर्णयअनुसार मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार निरन्तर रहने उपाध्यक्ष इन्जिनियर कुशवाहाको भनाइ छ । ‘गठबन्धनमा हामी छौँ । गठबन्धनभित्रका दलभित्र समन्वय र सहकार्य निरन्तर भइरहेको छ । त्यसैले पार्टीको कुनै पनि नीतिगत निर्णयका कारण प्रदेश सरकारको संरचना प्रभावित हुँदैन,’ उनले भने ।

उपाध्यक्ष कुशवाहाले गलत सन्देश प्रवाहित हुने खालका पुराना तस्बिर राखेर विपक्षीहरूले गरिरहेको हल्लाबाट प्रभावित नहुन सञ्चारमाध्यमहरूलाई आग्रहसमेत गरे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH