अब्बल मानिस राजनीतिमा लागेपछि मात्र कमसलको बहिर्गमन सम्भव हुन्छ : अध्यक्ष डा.राउत
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ फागुन ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था निम्त्याउने भएकाले दिलबाटै खेलेर राजनीतिमाथि नियन्त्रण र नेतृत्व गर्न विद्यार्थीलाई आह्वान गरेका छन् ।
विद्यार्थी जनमत संघ धनुषाद्वारा शनिबार जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरेका हुन् । उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए ।
उनले भने, ‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको समय बिताउने काम हो । मन नलागी गर्नेजस्तो अंशकालीन राजनीति गर्ने पनि होइन । अलिकता देखिहाल्छु, सुनिहाल्छु भनेर हुँदैन । पुरा दिलबाट लाग्नुस् । अनि जित हासिल हुन्छ । अब्बल मानिस राजनीतिमा लाग्दा मात्र कमसल मानिसको बहिर्गमन हुन्छ ।’
अध्यक्ष राउतले राजनीतिले नै सबैथोक निर्धारण गर्ने भएकाले यसमा बहानाबाजीको ठाउँ नरहने औंल्याए । उनले अखाडामा उत्रिने पहलमानले पिठ्युमा गिट्टीढुङ्गाले घोचेर, चिप्लिएर, अभ्यास नपुगेर वा भोकभोकै आएकाले जित्न नसकेको भन्नुको कुनै अर्थ नरहेको भन्दै त्यहाँ हार्नु भनेको हार्नु र जित्नु भनेको जित्नु रहेकाले चित्त बुझाउने भाषाको प्रयोग गर्न नपर्ने अवस्थामा पुग्नुपर्ने उल्लेख गरे ।
उनले चुनावमा समेत एक भोटले वा हजार भोटले जित्नु भनेको जित नै भएकाले नयाँ संगठन, चुनावमा पहिलोपटकको सहभागिता र अनुभवको कमीृ आदि निहुँ बनाएर जितबाट पन्छिन नमिल्ने भन्दै कुनै हालतमा जित्नुपर्छ भन्ने एकमात्र विकल्प राखेर रणनीति, कार्यक्रम र त्यसअनुसारको मिहिनेत गर्न विद्यार्थीलाई सुझाए ।
उनले भने, ‘हामी नयाँ छौँ । अखिल र नेविसंघ पुराना छन् । तिनीहरूसँग कसरी सक्ने भन्ने मानसिकता त्याग्नुस् । तिनीहरू पुराना भएर पनि केही गर्न नसकेको र तिनीहरूलाई हेरिसकिएको अवस्थामा पुराना भएको स्थितिलाई नस्वीकार्नुस् । आफ्ना दृष्टि, गर्नुपर्ने कामका विवरण र विकृति सुधारका योजना नयाँ प्रविधिसमेतको प्रयोग गरी प्रसार गर्नुस् । नयाँ हुनुको फाइदा हामीसँग छ । नयाँ मोबाइल पुरानाभन्दा उन्नत हुन्छ ।’
अध्यक्ष राउतले प्लसटु संस्कृतिका कारण कोर्सका किताब, प्रश्नपत्र र प्रश्नपत्रको सङ्ग्रहमा विद्यार्थीहरू रुम्मिलिँदा जागरुक र जिम्मेवार नागरिक बन्न नसकेको अवस्था विद्यमान रहेको भन्दै देश र विश्वमा हुनेगरेका घटनाबारे जानकारी तथा दृष्टि तथा बोध निर्माणले व्यक्तित्वको पहिचान स्थापित हुने बताए । उनले च्याट जिपिटीले जुनसुकै समस्याको समाधान एकदुई मिनेटमै दिने बेलामा किताबी ज्ञानको मात्र महत्त्व नहुँदा कोर्सका किताबमात्र पढ्ने र परीक्षामा अङ्क ल्याउने काम पर्याप्त नभएको उल्लेख गर्दै बोल्ने, जानकारी राख्ने र सम्झाइबुझाइ गर्ने तरिका सिक्न विद्यार्थीलाई सुझाए । उनले भने, ‘तपाईँहरू कहिल्यै मेरा सर्टिफिकेट हेर्नुभएको छ ? हेर्नुभएको छैन । तर म के बोलिरहेको छु, के जानकारी दिइरहेको छु त्योचाहिँ देखिरहनुभएको छ ।’
अध्यक्ष राउतले अहिले कसरी प्लस टु उतीर्ण गर्ने र कसरी विदेश जाने भन्ने मानसिकता रहेको तर कुनै बेला कलेज जाँदा ज्ञानार्जन हुने बुझाइ तथा कलेजका विद्यार्थीमा एक किसिमको परिपक्वता रहने गरेको स्मरण गरे । उनले भने, ‘उतिबेला बिबिसी, भ्वाइस अफ अमेरिकाबाट इराकइरान युद्धका कुरा सुनेर, अल इन्डिया रेडियोबाट गीतलगायत फरमाइस कार्यक्रम सुन्ने गाउँकै मानिस थिए । उनीहरू जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्थे । तर, प्लसटु संस्कृतिबाट त्यसमा स्वाभाविक रूपमा कमी आएको छ ।’
कार्यक्रममा मधेश प्रदेशसभामा पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले विद्यार्थीका गुनासा र समस्या सम्बोधन गरेर चुनावमा मत हासिल गर्न सकिने भन्दै यसका लागि जनमत संघका विद्यार्थीहरूले प्रयास गरिरहनुपर्ने बताए । विद्यार्थीका काम गरेरै आफूले जनकपुरधामको राराब क्याम्पसको स्ववियुको नेतृत्व गर्न पाएको सम्झँदै राराब क्याम्पसको स्ववियुका पूर्वसभापति यादवले विद्यार्थीसँगको सम्बन्ध, सद्भाव र समन्वयले मात्र स्ववियुमा जितको बाटो प्रशस्त गर्ने अनुभव सुनाए ।