जलवायु सङ्कट र समाधानका बारेमा डा.राउतको व्याख्यान आज
टोलपडोस समाचारदाता
जकपुरधाम, ४ फागुन ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आइतबार आयोजना हुने बहस कार्यक्रममा विज्ञवक्ताका रूपमा सहभागी हुँदैछन् । अर्थतन्त्रलाई आकार र हरित भविष्य भन्ने नाराका साथ युवाले प्रविधि र नवप्रवर्तनमार्फत योगदान दिन नवीनतम प्रविधिको प्रयोग गरी सहभागिता जनाउने सो कार्यक्रममा विज्ञवक्ताका रूपमा व्याख्यान दिन जनमत अध्यक्ष डा.राउत शनिबार नै जनकपुरधाम आएका छन् ।
विद्यार्थी जनमत संघ धनुषाद्वारा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा शनिबार सहभागी भएका अध्यक्ष डा.राउत आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ११ बजेबाट सुरु हुने बहस कार्यक्रममा सहभागी हुने नागरिक रिपब्लिक मिडियाका प्रमुख सञ्चालन अधिकृत मदन अर्यालले बताए ।
घरेलु तथा वैश्विक राजनीतिमा गहिरो दृष्टि, सुक्ष्म विश्लेषण र सटीक दिशा तय गर्न सक्ने नेतृत्वकर्ता तथा प्राज्ञिक व्यक्तित्व भएकाले जनमत अध्यक्ष डा.राउतलाई बहसमा विज्ञवक्ताका रूपमा आमन्त्रण गरिएको उनले बताए । मुलुकको युवा जनशक्तिमा देखिएको चरम निराशाको रोकथाम, अर्थोपार्जन गर्ने र जलवायु सङ्कटजस्ता नवीनतम् समस्याबाट पार पाउनुपर्ने चुनौतिका समाधानबारे डा.राउतको वस्तुपरक, तर्कपूर्ण र अनुभवमा आाधारित ज्ञानको विनिमय युवाका लागि उपयोगी हुने अर्यालको विश्वास छ ।
कार्यक्रममा डा.राउतसँगै नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादव, चर्चित हृदयरोग विशेषज्ञ डा.ओममूर्ति अनिल, नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवाली र निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगरिया विज्ञवक्ता रहनेछन् ।
कार्यक्रममा चुरे क्षयीकरणको रोकथाम र कृषि प्रणालीको पुनसर््थापना तथा दिगोपन लगायतका विषयमा चर्चा गरिनेछ ।