पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीको रतनपुरमा नृशंस हत्या
टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ साउन ।
चार पटकका सांसद एवम् पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिका वडा नम्बर १ रतनपुरमा हत्या भएको छ । पूर्वमन्त्री यादव सर्लाही सदरमुकाम मलंगवामा बस्दैआएका थिए
गाउँमा मृत्युभोज सकाएर आइतबार रातिविश्रामका लागि पुगेका पूर्वमन्त्री यादवलाई जग्गासम्बन्धी विवाद सुल्झाउन आग्रह गर्न पुगेका अज्ञात तीनजना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको आशंका आफन्तले गरेका छन् ।
मधेश प्रदेशका पूर्वमन्त्री सञ्जयकुमार यादवका अनुसार आइतबार राति विश्राम गर्ने उद्देश्यले रतनपुरस्थित आफ्नो दुईकोठे घरमै बस्ने मनस्थिति बनाएर घरबाहिर कुर्चीमा बसिरहेका बेला तीनजना व्यक्ति आएर जग्गा विवाद सुल्झाउन आग्रह गरेका र पछि ती व्यक्ति सँगैको कोठामा बस्ने भन्दै मन्त्री रायले त्यहाँ काम गर्ने व्यक्तिलाई अन्यत्र सुत्न आदेश दिएका थिए ।
दुईमध्ये एक कोठामा सुत्ने तयारी गरिरहेका कामदारले ओढ्नेआछ्याउने लिएर छतमा गइसकेपछि सो घटना भएको हुनसक्ने कामदारलाई उद्यृत गर्दै पूर्वमन्त्री यादवले जानकारी दिए । पूर्वमन्त्री यादव मृतक रायका भान्जा हुन् ।
राति १२ बजेर १५ मिनेटतिर छतबाट ओर्लेका कामदारले पूर्वमन्त्री राय सुत्ने एउटा र अज्ञात व्यक्तिहरू सुत्ने भएिको अर्को गरी दुवै कोठाको ढोका खुला देखेपछि यताउता खोजीनीति गर्दा घटनास्थलमा रगतैरगत छरिएको पाएपछि गाउँलेहरूलाई खबर गरेका थिए ।
भेट्न आएकाहरूले कुराकानीकै क्रममा घाँटी छिनालेर पूर्वमन्त्री रायको हत्या गरेको हुनसक्ने बताइएको छ ।
घटनापछि मधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेलनेतृत्वको टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ । घछनास्थलभन्दा पचास मिटर पछाडि बाँसघारीबाट एउटा फर्सा बरामद भएको छ । त्यहाँबाट निस्कने दुईवटा बाटामध्ये एकमा रहेको कलनजिकसम्म डग स्क्वाड गएर रोकिएको छ ।
हत्याराहरूले कलमा जीउहात धोईपखाली अगाडि बढेकाले अनुसन्धानमा प्रयोग भएका कुकुर कलमै गएर रोकिएको प्रहरीको भनाइ छ । मधेश प्रदेशका पूर्वमन्त्री यादवले स्थानीयको संलग्नता नभई हत्याको योजना बन्न नसक्ने हुँदा त्यस कोणबाट पनि अनुसन्धान अघि बढेको आफूले जानकारी प्राप्त गरेको बताए ।
घटनास्थलमा सोमबार बिहानै पुगेका डिआइजी पोखरेलका अनुसार आक्रमणकारीले पूर्वमन्त्री रायको खप्परमा धारिलो हतियार प्रहार गरेका छन् । उनले कामदारकै बयान उद्धृत गर्दै जग्गा विवाद मिलाइदिन आग्रह गर्न आएका तीनजनालाई पूर्वमन्त्री रायले घरमै बस्न भनेकाले उनीहरू र मृतकबीच राम्रो चिनजान रहेको बुझ्न सकिने र त्यसलगायत अन्य कोणबाट अनुसन्धान भइरहेको बताए ।
ती कामदारले पूर्वपरिचित नभए पनि देखेमा आफूले हत्यारालाई चिन्न सक्ने बयान दिएका छन् । प्रहरीले अहिले ती कामदारसँग थप सोधपुछ गरिरहेको छ ।